ट्रेन्डिङ

सरकार पूर्वविशिष्टको सुविधा कानूनमा समेट्दै : अहिले को कसले लिँदैछन् राज्यकोषबाट के–के सुविधा ?

वीरगन्ज । पूर्वराष्ट्रपतिदेखि पूर्वसभामुखसम्मका विशिष्ट पदाधिकारीहरूले पाउँदै आएको सेवा–सुविधालाई व्यवस्थित र पारदर्शी बनाउन सरकारले कानून निर्माणको तयारी थालेको छ।

हालसम्म कुनै स्पष्ट कानूनी आधारबिना नै राज्यकोषबाट सुविधा लिँदै आएका यी पदका पूर्वपदाधिकारीबारे नागरिक तहमा चर्को आलोचना भइरहेका बेला गृह मन्त्रालयले ुपूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदाु अर्थ मन्त्रालयमा पठाएको छ।

मस्यौदामा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षलाई मासिक वृत्ति, घरभाडा, गाडी र कर्मचारीसहितका सुविधा दिने प्रस्ताव गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

हाल सुविधा लिइरहेका पूर्वविशिष्टहरू : 

गृह मन्त्रालयका अनुसार, पूर्वराष्ट्रपति डा. रामवरण यादव, विद्यादेवी भण्डारी, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. बाबुराम भट्टराई र लोकेन्द्रबहादुर चन्दले हाल राज्यबाट सेवा सुविधा लिइरहेका छन्।

पूर्वराष्ट्रपति डा. रामवरण यादव : 

मासिक पारिश्रमिक : ५० हजार रुपैयाँ
मासिक घरभाडा : १ लाख ९२ हजार २५५ रुपैयाँ (घरधनीलाई भुक्तानी)
बिजुली, पानी, सञ्चार महसुल : बिलबमोजिम
सवारीसाधन : २ वटा चार पाङ्ग्रे गाडी
इन्धन : मासिक २०७ लिटर पेट्रोल बराबरको रकम
कर्मचारी : ३ जना (स्वकीय उपसचिव, हल्का सवारी चालक र कार्यालय सहयोगी)
कुल मासिक सुविधा : करिब साढे ३ लाखभन्दा बढी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी : 

मासिक पारिश्रमिक : ५० हजार रुपैयाँ
मासिक घरभाडा : १ लाख रुपैयाँ (सुरक्षाकर्मीका लागि भनिए पनि कानूनी आधार छैन)
इन्धन : मासिक २०७ लिटर पेट्रोल बराबरको रकम
सवारीसाधन : प्रयोग नगरे पनि इन्धन सुविधा लिने
कुल मासिक सुविधा : डेढ लाखभन्दा बढी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी (सर्वोच्चबाट दोहोरो सुविधा) :

मासिक पारिश्रमिक र घरभाडा : लिँदैनन्
सवारीसाधन : १ वटा चार पाङ्ग्रे गाडी
इन्धन : मासिक १५० लिटर पेट्रोल बराबरको रकम
कर्मचारी : १ जना निजी सहायक (मासिक ४३ हजार ६८९ रुपैयाँ)
(पूर्वप्रधानन्यायाधीशको नाताले सर्वोच्चबाट पनि ६०० सीसीसम्मको गाडी, १०० लिटर इन्धन, चालक र मर्मत सुविधा)

पूर्वउपराष्ट्रपति परमानन्द झा : 

हल्का सवारी चालकको सुविधा मात्रै (मासिक २७ हजार ६१२ रुपैयाँ)

पूर्वप्रधानमन्त्रीहरू (झलनाथ खनाल, डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द) :

सबैले एक-एक वटा चार पाङ्ग्रे सवारीसाधन प्रयोग गरिरहेका छन्।

पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षहरू: 

पूर्वसभामुख तारानाथ रानाभाट, कृष्णबहादुर महरा, ओनसरी घर्ती, अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सवारीसाधन सुविधा लिइरहेका छन्।
पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले भने कुनै पनि औपचारिक निर्णयबिना नै सवारीसाधन प्रयोग गरिरहेको संघीय संसद सचिवालयले जनाएको छ।
रानाभाट र घर्तीले मासिक १०० लिटर पेट्रोल बराबरको रकम लिन्छन्। महराले यो सुविधा लिएका छैनन् भने सापकोटाले विद्युतीय सवारी प्रयोग गरिरहेका छन्।
चारै जना पूर्वसभामुखले प्रथमस्तरको हल्का सवारी चालकको सुविधा पनि लिइरहेका छन्।

सुविधा नलिएका पूर्वविशिष्टहरू : 

गृह मन्त्रालयका अनुसार, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, शेरबहादुर देउवा, र पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्वविशिष्टको नाताले कुनै सुविधा लिएका छैनन्। यद्यपि, उनीहरूले हाल प्रतिनिधिसभा सदस्यको रूपमा सांसदले पाउने सुविधा भने लिइरहेका छन्। माओवादी अध्यक्ष प्रचण्डले हाल प्रमुख प्रतिपक्ष दलको नेताका रूपमा सोही पदको सुविधा लिइरहेका छन्।

पूर्वप्रधानन्यायाधीशहरू : 

सर्वोच्च अदालत प्रशासनका अनुसार, २०१३ सालका पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानदेखि विश्म्भरप्रसाद श्रेष्ठसम्मका २१ जना प्रधानन्यायाधीशमध्ये जीवित १५ जनाले पेन्सनबाहेक सवारीसाधन सुविधा लिइरहेका छन्। उनीहरूले जीवनकालभरि ६०० सीसीसम्मको एउटा सवारीसाधन, मासिक १०० लिटर इन्धन, एक जना हल्का सवारी चालक र सवारी मर्मतसम्बन्धी सुविधा पाउँछन्।

गृह मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदाले पूर्वविशिष्ट पदाधिकारीहरूलाई दिइने सेवा–सुविधालाई कानूनी दायरामा ल्याउने र यससम्बन्धी अस्पष्टतालाई हटाउने लक्ष्य राखेको छ। यसले राज्यकोषको प्रयोगमा थप पारदर्शिता र जवाफदेहिता ल्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै