ट्रेन्डिङ

इलाममा ३२ लाख बढीको जलप लगाएको गहनासहित दुई भारतीय पक्राउ

वीरगन्ज । इलामको सूर्योदय नगरपालिका–२, चारमाइलबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बरामद गरिएका सामग्रीको मूल्य करिब ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँ रहेको छ। पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशका ३८ वर्षीय अविनाश बोध र ३५ वर्षीय रवि कुमार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाका आधारमा आइतबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिएको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरूमाथि शंका लागेर जाँच गर्दा उनीहरूले बोकेको झोलाबाट १७ किलो ४ सय ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएको गहना तथा विभिन्न किसिमका मालाहरू फेला परेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। बरामद सामग्रीलाई सुनचाँदी व्यवसायी संघ बिर्तामोड, झापामा परीक्षण गर्दा जलप लगाएको प्रमाणित भएको हो।

पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि भन्सार कार्यालय पशुपतिनगर, इलाममा बुझाइएको छ। यद्यपि, बरामद गरिएका चाँदी तथा सुनको जलप लगाएका गहना कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको हो भन्नेबारे अझै खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै