जनकपुरधाम । धनुषा जिल्ला अदालतले श्रीमतीलाई बलात्कार गरेको मुद्दामा श्रीमानलाई दोषी ठहर गर्दै कैद र क्षतिपूर्ति भराउने आदेश दिएको छ।
न्यायाधीश दिलकुमार वर्देवाको एकल इजलाशले वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमानलाई दोषी ठहर गरेको हो।
अदालतले जेठ १३ गते नै श्रीमानलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्ने निर्णय सुनाएको थियो। जेठ २९ गतेको पेशीमा सजाय पूर्वको प्रतिवेदन पेस गर्न आदेश दिएपछि गत शुक्रबारको पेशीमा न्यायाधीश वर्देवाको इजलासले श्रीमानलाई ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने अन्तिम आदेश दिएको हो।
पीडित श्रीमतीले २०७९ चैत २१ गते धनुषा जिल्ला अदालतमा श्रीमानले जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेकी थिइन्। यस मुद्दामा २०८० साउन २१ गते पहिलो पेशी चढेको थियो, जसमा अदालतले धरौटी माग गर्ने आदेश दिएको थियो। कुल ३६ वटा पेशी चढेपछि शुक्रबार यस मुद्दामा अन्तिम आदेश आएको हो।