ट्रेन्डिङ

पानीमाथि राजनीति गरेपछि वडा अध्यक्ष महर्जनसँग वडावासी आक्रोशित

वीरगन्ज । वीरगन्जमा गर्मी बढेसँगै खानेपानीको हाहाकार मच्चिरहेका बेला वीरगन्ज महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिराकाजी महर्जनमाथि पानीमाथि नै राजनीति गरेको गम्भीर आरोप लागेको छ।

विगतमा वडावासीको सहजताका लागि जडान गरिएका बोरिङको पानीलाई अध्यक्ष महर्जनले व्यक्तिगत र राजनीतिक स्वार्थका लागि दुरुपयोग गरेको भन्दै वडावासीले चर्को असन्तुष्टि व्यक्त गरेका छन्।

वडा नं. ७ मा वडा कार्यालयले सर्वसाधारणको सुविधाका लागि बोरिङ जडान गरी खानेपानीको व्यवस्था गर्दै आएको थियो। तर, अहिले अध्यक्ष महर्जनले आफ्नो राजनीतिक दलको वर्चस्व कायम राख्न र आगामी २०८४ सालको निर्वाचनमा प्रभाव जमाउने उद्देश्यले आफू निकट घरहरू, दलका नेता, कार्यकर्ता र आसेपासेहरूको घरको ट्याङ्कीमा बोरिङको पाइप जोडाएको कुरा बाहिरिएको छ।

नाम उल्लेख नगर्ने शर्तमा एक वडावासीले आक्रोश व्यक्त गर्दै भने, ूसामान्य जनतालाई पानीको चरम समस्या भइरहेको बेला वडा अध्यक्षको यस्तो क्रियाकलाप असन्तुलित, असमान र जनविरोधी छ।ू उनीहरूले अध्यक्षको यो कार्यले गर्दा वास्तविक पीडित जनताले पानी पाउनबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन्।

खानेपानीको बोरिङको अवैधानिक जडानबारे प्रतिक्रिया लिनका लागि वडा अध्यक्ष हिराकाजी महर्जनलाई पटकपटक सम्पर्क गर्ने प्रयास गर्दा उनको टेलिफोन नउठेका कारण कुनै प्रतिक्रिया प्राप्त हुन सकेन। वडाध्यक्षको यस्तो गैरजिम्मेवार रवैयाले सर्वसाधारण जनतामा ठूलो असन्तुष्टि पैदा गरेको वडावासीको भनाइबाट प्रष्ट हुन्छ। यस घटनाले वडावासीमा आक्रोश र निराशा छाएको छ, जसले गर्दा स्थानीय तहमा जनविश्वास खस्किने चिन्ता बढेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै