ट्रेन्डिङ

‘भ्रष्टको कमान्डर होइन, शोषितको सिपाही बन्नुमा गर्व छ’ : प्रभु साह

वीरगन्ज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले आफूलाई ‘लुटेरा र भ्रष्ट शासकहरूको कमान्डर’ भन्दा ‘शोषित, पीडित, अधिकारविहीन र आवाजविहीन सर्वसाधारणको सिपाही’ कहलानमा गौरव महसुस हुने बताएका छन्।

आज काठमाडौँको कोटेश्वरमा आजपा निकटको आम सम्पर्क मञ्च केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो सशक्त धारणा व्यक्त गरे।

अध्यक्ष साहले आफू विगतमा जुन पार्टीमा थिए, त्यहाँ राम्रो पदमा रहे पनि आम जनताले अधिकार नपाएको र भ्रष्टाचारीहरूको रजगज रहेको महसुस गरेपछि ‘आम जनता पार्टी’ गठन गरेको स्पष्ट पारे। ‘आम जनताले कसरी अधिकार पाउने, राज्यसत्तामा कसरी उनीहरूको पहुँच हुने, र अधिकारविहीनहरूको अधिकार कसरी सुरक्षित गर्ने भन्ने बारेमा सोचेरै आम जनता पार्टीको गठन गरेका हौँ,’ उनले भने।

साहले काँग्रेस र कम्युनिष्ट भनिने दलहरूले आम जनतालाई निरन्तर धोका दिइरहेको आरोप लगाए। उनले आम जनताको शासनसत्तामा अधिकार र सहभागिता सुनिश्चित गर्न आफूले प्राप्त सुख–सुविधा तथा गठबन्धनको टिकटसमेत त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको स्मरण गराए। उनका अनुसार, हालको शासन व्यवस्था ‘लुटेरा वर्ग’को कब्जामा छ, जसले नेपाललाई लुटेर विदेशमा सम्पत्ति थुपारिरहेका छन्।

आम जनताको शासन व्यवस्थामा पहुँच नभएसम्म आफ्नो संघर्ष जारी रहने उनले दृढता व्यक्त गरे। आजपा अध्यक्ष साहले अहिले भगौडा वर्गको शासन रहेको भन्दै आम जनताको शासन नहुँदासम्म संघर्ष जारी राख्नुपर्नेमा जोड दिए। उनले विश्वमा कतै नभएको ‘तीन तहको सरकार’ नेपालमा बनाएर लुट मच्चाइएको टिप्पणी गरे। ‘करमाथि कर, करको पनि कर। सरकारले मुलुकमा कर आतंक मच्चाएको छ,’ साहले आक्रोश व्यक्त गरे ।

सोही कार्यक्रमका बीच विभिन्न पार्टी एवं संगठन परित्याग गरी युवा नेताहरू आजपामा प्रवेश गरेका छन्। अध्यक्ष साहले उनीहरूलाई अविर र खादा लगाएर पार्टीमा स्वागत गरे। प्रवेश गर्नेहरूमा सप्तरी निवासी इन्जिनियर राधेश्याम मण्डल, प्रमेश्वर साह, रौतहटका हार्दिक साह, रमेशकुमार साह, सत्येन्द्र साह, विपुलेन्द्र सहनी, रोशन सहनी, सर्लाहीका विरेन्द्र साह, रामपृत राय यादव, र पर्साका ओमप्रकाश साह लगायतका युवा नेताहरू रहेका छन्।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै