वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै विद्यालयहरूमा गर्मी बिदा थप गरेको छ।
महानगरपालिका शिक्षा शाखाले एक सूचना जारी गर्दै असार १ गते आइतबारदेखि असार ६ गते शुक्रबारसम्म (६ दिन) पठनपाठन बन्द गर्ने जनाएको हो।
वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय, शिक्षा शाखाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार, यो थप गरिएको बिदालाई वर्षे सट्टे बिदाबाट मिलान गरिनेछ। यस निर्णयले वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू (मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालयसमेत) बन्द हुनेछन्।
प्रमुख शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा बिदाको समयमा समेत विद्यालय प्रशासनका कामहरू भने सूचारु राख्न सबै विद्यालयहरूलाई अनुरोध गरिएको छ।