ट्रेन्डिङ

नेपाल–भारत सीमा समन्वय समितिको बैठक सम्पन्न, अपराध नियन्त्रणमा महत्वपूर्ण सहमति

वीरगन्ज । नेपाल र भारतबीचको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न तथा वर्षायाममा उत्पन्न हुने डुबान समस्या समाधानका लागि महत्वपूर्ण सहमति भएको छ।

शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठकमा दुवै पक्षबीच अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सीमापार अपराध, लागुऔषध तस्करी, अवैध हातहतियारको कारोबार र मदिराजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रणमा विशेष जोड दिइएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार, एक देशमा अपराध गरी अर्को देशमा लुकेर बसेका अपराधीहरूलाई पक्राउ गर्न सूचना आदानप्रदानका साथै प्रत्यक्ष सहयोग गर्ने सहमति पनि भएको छ।

बैठकमा विदेशी घुसपैठमाथि पूर्ण निगरानी राख्ने र दशगजा क्षेत्र लगायत सीमा सुरक्षामा विशेष जोड दिइएको छ। यसका अतिरिक्त, वर्षायाममा रौतहटस्थित बागमती र लालबकैया नदीमा पानीको सतह बढेपछि गौर क्षेत्रलाई डुबानबाट जोगाउन भारतको बैरगनियास्थित नदीको साइफन (ढोका) खोल्ने सहमति पनि भएको सिडिओ खड्काले जानकारी दिए ।

यस दुईपक्षीय बैठकमा नेपालका तर्फबाट सर्लाही, महोत्तरी र रौतहट जिल्लाका सुरक्षा अधिकारीहरू तथा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ। यो सहमतिले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र जनताको दैनिकीलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै