ट्रेन्डिङ

भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना, २४२ यात्रुसहित लन्डन उडेको बोइङमा आगलागी

वीरगन्ज । भारतको अहमदाबादमा आज दिउँसो एउटा ठूलो विमान दुर्घटना भएको छ। अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान १ बजेर ५८ मिनेटमा दुर्घटनाग्रस्त भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । दुई जना पाइलटसहित १२ जना ‘क्रु मेम्बर’ र २३० जना यात्रु गरेर २४२ जना बोकेर उडेको विमान केही समयमै दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनास्थल अहमदाबादको मेघानीनगर क्षेत्र नजिकै रहेको प्रहरीले पुष्टि गरेको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान टेक–अफ गरेको केही मिनेटमै ८२५ फिटको उचाइबाट खसेर ठूलो आगोको ज्वालासहित विस्फोट भएको थियो। घटनास्थलबाट बाक्लो कालो धुवाँको मुस्लो आकाशमा फैलिएको भिडियो फुटेजहरू सार्वजनिक भएका छन्।

दुर्घटनाको खबर पाउनासाथ ठूलो संख्यामा दमकल र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए। आगलागी नियन्त्रणका लागि द्रुत गतिमा काम भइरहेको छ। कम्तीमा दुई दर्जन एम्बुलेन्सहरूले घाइतेहरूलाई नजिकका अस्पतालहरूमा पुर्‍याउन सहयोग गरिरहेका छन्, यद्यपि घाइतेहरूको संख्या र उनीहरूको अवस्थाबारे विस्तृत जानकारी आउन बाँकी छ। स्थानीय प्रहरीले दुर्घटनाग्रस्त क्षेत्रमा यातायात आवागमनलाई डाइभर्ट गरेको छ।

एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै आफ्नो विमान ‘घटनामा संलग्न’ भएको पुष्टि गरेको छ र घटनाबारे थप विवरणहरू संकलन गरिरहेको जनाएको छ। विमान दुर्घटनाको कारणबारे तत्काल केही खुलाइएको छैन र यस विषयमा अनुसन्धान सुरु भइसकेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै