ट्रेन्डिङ

प्रहरीलाई नेशनल मेडिकल कलेजको विशेष स्वास्थ्य प्याकेज : ८ देखि ५०% सम्म छुटको सम्झौता

वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले नेपाल प्रहरीका बहालवाला, भूतपूर्व प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी विशेष स्वास्थ्य सेवामा आकर्षक छुट उपलब्ध गराउने भएको छ।

आज नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्साबीच यससम्बन्धी दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौताले नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरू, सेवा निवृत्त भइसकेका भूतपूर्व प्रहरी र उनीहरूका आश्रित परिवारजनलाई विभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुटको सुविधा प्रदान गर्नेछ। मेडिकल कलेजका प्रबन्धक शहानवाज अन्सारी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

नेशनल मेडिकल कलेजका प्रबन्धक शहानवाज अन्सारीका अनुसार, यो छुट सुविधा ८ प्रतिशतदेखि ५० प्रतिशतसम्म रहनेछ।

बहालवाला प्रहरीका लागि ओपिडी टिकटमा ५० प्रतिशत छुट, बेड, केबिन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २५ प्रतिशत छुट, भिडियो एक्सरे, एक्सरे, ईसीजी लगायतका सेवामा पनि २५ प्रतिशत छुट दिने सम्भौता भएको छ ।
यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारी र निजका आश्रित परिवारजनका लागि ओपिडी टिकटमा ५० प्रतिशत छुट, बेड, केबिन, आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्जमा २० प्रतिशत छुट, भिडियो एक्सरे, एक्सरे, ईसीजी लगायतका सेवामा पनि २० प्रतिशत छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौताले नेपाल प्रहरीका सदस्यहरू र उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा थप पहुँच र आर्थिक राहत प्रदान गर्ने विश्वास गरिएको छ।

सम्झौता हस्ताक्षर समारोहमा कलेजका संचालक प्रा. डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरीक्षक सुबास भट्ट, अस्पतालका प्रेस संयोजक आशिक अन्सारी लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै