वीरगन्ज । वीरगन्जमा आज तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेसँगै जनजीवन अत्यधिक प्रभावित बनेको छ। चर्को गर्मीले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ भने विशेषगरी बालबालिका, मजदुर र साना व्यवसायीहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
असह्य गर्मीका कारण विद्यालय पढ्ने बालबालिकाहरू पनि गम्भीर रूपमा प्रभावित भएका छन्। गर्मीका कारण विद्यालयमा विद्यार्थी बेहोस हुने र बिरामी पर्ने घटनाहरू बढेकाले अभिभावकहरूले विद्यालय बन्दको माग गरेका छन्। सामान्य अवस्थामा बालबालिकालाई विद्यालय पठाउनु अभिभावकको दायित्व भए पनि अहिलेको चरम गर्मीमा उनीहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहिरहेका छैनन्।
आज मात्रै बाराको कलैया उपमहानगरपालिकाले समेत विद्यार्थी मुर्छित भएपछि ३ दिन विद्यालय बन्दको घोषणा गरेको छ । नेपालगञ्ज लगायत तराइका अन्य केही शहरमा पनि गर्मीका कारण विद्यालयहरु बन्द भएका छन्।
गर्मीको प्रत्यक्ष असर श्रमिक, मजदुर र साना सडक व्यवसायीहरूमा परेको छ। चर्को घामका कारण दिनभर काम गर्न असहज भएको र ग्राहकहरूको चहलपहल पनि कम हुँदा उनीहरूको आम्दानीमा समेत असर परेको छ। सडक किनारमा ठेला वा पसल राख्ने व्यवसायीहरू दिउँसोको चर्को घाममा बस्न नसक्ने अवस्थामा छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, तराइ क्षेत्रमा अझै केही दिन तापक्रम उच्च रहने सम्भावना छ। यसले गर्दा तातो हावा (लू) चल्ने क्रम पनि जारी रहनेछ।
स्वास्थ्यकर्मीहरूले गर्मीबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। पर्याप्त मात्रामा पानी पिउने, झोलिलो पदार्थ सेवन गर्ने, दिउँसो घरबाहिर ननिस्कने, हल्का र खुकुलो कपडा लगाउने जस्ता उपायहरू अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई गर्मीको प्रत्यक्ष प्रभावबाट बचाउन विशेष ध्यान दिनुपर्ने देखिन्छ।