ट्रेन्डिङ

रेमिट्यान्स : दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रियो

वीरगन्ज । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा यस आर्थिक वर्षको पहिलो दश महिनामा उत्साहजनक वृद्धि देखिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, यस अवधिमा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२ प्रतिशतले बढी हो। यद्यपि, गत वर्षको १६.९ प्रतिशतको वृद्धिको तुलनामा यसपालि वृद्धिदर भने केही सुस्त देखिएको छ।

राष्ट्र बैंकको तथ्याङ्कले २०८२ वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको देखाएको छ। यो गत वर्षको सोही महिनाको १ खर्ब १५ अर्ब ९९ करोड रुपैयाँको तुलनामा निकै बढी हो। अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड डलर पुगेको छ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब १ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो। यसले नेपालको बाह्य क्षेत्र सन्तुलनमा सकारात्मक प्रभाव पारेको देखिन्छ।

रेमिट्यान्स आप्रवाह बढ्नुमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा भएको वृद्धि पनि एउटा प्रमुख कारण हो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि ४ लाख ५ हजार ६१० जना नेपालीले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिएका छन्। गत वर्षको सोही अवधिमा यो सङ्ख्या ३ लाख ७३ हजार ३०७ थियो।

त्यस्तै, वैदेशिक रोजगारीमा पुनः जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या पनि बढेको छ। यस अवधिमा २ लाख ८० हजार ३१४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्, जबकि गत वर्ष यो सङ्ख्या २ लाख ३६ हजार ३९८ थियो। यसले नेपाली युवाहरूको वैदेशिक रोजगारीप्रतिको आकर्षण कायमै रहेको देखाउँछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै