जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)ले मधेश प्रदेशसभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएसँगै जसपा नेपालका सांसदहरुले सिटबाट उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठकलाई बिहीबार दिउँसो १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले प्रदेशसभाको चौथो अधिवेशनको २२ औं बैठकमा सभामुख मण्डलले छानविन समिति गठन गर्ने घोषणा गरेपनि त्यसको कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।
उनले सभामुख रामचन्द्र मण्डललाई सम्बोधन गर्दै भने, ‘सरकारद्वारा जुन गडवडी हुन्छ, आर्थिक अनुशासनको उल्लङघन हुन्छ, त्यसको नियन्त्रण गर्ने काम हो सदनको, त्यसैले सर्वदलीय सहमतिबाट संसदीय छानविन समिति गठन गर्ने निर्णय पनि तपाईकै अध्यक्षतामा भयो । र तपाईले घोषणा पनि गर्नुभयो । त्यस हिसाबले नै प्रतिपक्षी दलले समितिका लागि नाम पनि दिइसकेको छ तर सत्तापक्षले दिन चाहेको छैन् । यसले प्रष्ट हुन्छ सरकार सदनप्रति उत्तरदायि छैन् । सरल भाँषामा भन्यो भने सरकार चाहन्छ भ्रष्टाचार होस् । प्रतिपक्षको आग्रह छ, छानविन समिति गठन होस् ।’
उनले संसदीय छानविन समिति गठन नभएसम्म बैठक अवरुद्ध गरिरहने बताए ।
सभामुख मण्डलले आज करिब ३ घण्टा यो विषयमा छलफल गरेपनि निष्कर्षमा पुग्न नसकेको भन्दै औपचारिक/अनौपचारिक रुपमा बैठक बस्नेगरी यो विषयमा टुंगो लगाउन आजको बैठक स्थगन गरेको बताए । उनले प्रदेश सभाको बैठक भोली जेष्ठ २२ गते दिनको १ बजे बस्नेगरी स्थगित गरे ।