ट्रेन्डिङ

संघीय अनुदानमा बहुदरमाई नगरपालिकामा दुई ठूला परियोजना स्वीकृत

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाले आगामी आर्थिक वर्षमा दुई वटा ठूलो परियोजना सञ्चालन गर्ने भएको छ ।

२०८२/८३ का लागि संघीय सरकारबाट समपुरक र विशेष अनुदानअन्तर्गत दुई महत्त्वपूर्ण परियोजनाहरू सञ्चालन गर्ने भएको हो । नगरप्रमुख सिंहासन साह तेलीको पहलमा यी नयाँ योजनाहरू संघीय बजेटमा समावेश भएका हुन्।

समपुरक अनुदानअन्तर्गत सडक विस्तार 

बहुदरमाई नगरपालिकाले समपुरक अनुदानमार्फत ‘डोकैला चोकदेखि बर्वा हुँदै भौराटार र पटनी जाने सडक’ निर्माण गर्ने भएको छ। यो सडक परियोजना तीन वर्षे योजनाका रूपमा अघि बढाइनेछ, जसको कुल लागत ७ करोड रुपैयाँ अनुमान गरिएको छ। संघीय सरकारबाट यसका लागि १ करोड ५ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ । यो नयाँ सडक निर्माणले स्थानीय यातायात सुविधामा उल्लेख्य सुधार ल्याउने अपेक्षा गरिएको छ।

विशेष अनुदानमा खानेपानी परियोजना 

त्यसैगरी, विशेष अनुदानअन्तर्गत बहुदरमाई नगरपालिकामा ‘डिप बोरिङ जडान’ को नयाँ योजना स्वीकृत भएको छ। यस परियोजनाको कुल लागत १ करोड १७ लाख रुपैयाँ रहेको छ, जसमध्ये संघीय सरकारबाट ९९ लाख रुपैयाँ अनुदान प्राप्त भएको छ। यो खानेपानी परियोजनाले स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।

नेपाल सरकार, राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२र८३ मा प्रदेश सरकार र स्थानीय तहबाट कार्यान्वयन हुने गरी छनौट गरिएका आयोजना तथा कार्यक्रमहरूको विवरण सार्वजनिक गरेको छ। यसै सूचीमा बहुदरमाई नगरपालिकाका यी दुई परियोजनाहरू पनि समावेश भएका हुन्।

नगरप्रमुख साह तेलीको सक्रिय भूमिका र निरन्तर प्रयासका कारण यी महत्त्वपूर्ण योजनाहरू संघीय बजेटमा पार्न सफल भएको नगरपालिका कार्यालयले जनाएको छ। यी परियोजनाहरूको कार्यान्वयनले बहुदरमाई नगरपालिकाको पूर्वाधार विकास र जनजीवनको गुणस्तर सुधारमा ठूलो टेवा पुग्ने देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै