ट्रेन्डिङ

पर्सा प्रहरीद्वारा स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुईजना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले परवानीपुर चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जेठ १८ गते दिउँसो २:३० बजे परवानीपुर प्रहरी चौकीबाट खटिएको नियमित चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको रातो कालो १५० सीसीको पल्सर मोटरसाइकलमा सवार दुई व्यक्तिमाथि शंका गरेको थियो।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं. २ बस्ने २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत, बिहार जिल्ला बेतिया बकुलहर बस्ने १९ वर्षीय सत्यम कुमार रहेका छन्। प्रहरीले उनीहरूको चेकजाँच गर्दा सुरेश कुमार बर्णवालले भिरेको कालो रङ्गको ब्यागभित्र लुकाइएको अवस्थामा नगद फेला पारेको थियो।

बरामद भएको कुल १२ लाख रुपैयाँ नगदमध्ये १००० रुपैयाँ दरका ७७१ थान गरी ७ लाख ७१ हजार रुपैयाँ र ५०० रुपैयाँ दरका ८५८ थान गरी ४ लाख २९ हजार रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार, पक्राउ परेका दुवै जनालाई नगद र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार) कसूरमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै