
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सफारी सञ्चालनको तयारी सुरु भएको छ ।
वर्षाका कारण रोकिएको निकुञ्ज सफारी पूनः सञ्चालन गर्ने तयारी गरिएको हो । त्यसका लागि निकुञ्जभित्र जंगल सफारी गर्न बनाइएका सडक तथा पूर्वाधारको मर्मत कार्य सुरु भएको हो ।
प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले निकुञ्जको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रका रुट अन्तर्गतका संरचनाको मर्मत कार्य सुरु गरिएको बताए । उनका अनुसार पश्चिम क्षेत्रको काम सकिसकेको छ अब पूर्वपट्टिको मर्मत तयारी गरिएको हो ।
वर्षातका कारण निकुञ्जभित्रका तीनवटा पुलमा क्षति पुगेकाले ती पुलहरु मर्मत, सडक सरसफाइ र सडक छेउका झाडी पन्छाउने काम सुरु गरिएको उनी बताउँछन् । निकुञ्ज क्षेत्रको मुख्य पर्यटकीय गतिविधि जिप सफारी रहेकाले सो सञ्चालनको तयारी थालिएको बताए ।
डुंगा सफारी, चरा हेर्ने (बर्ड बाचिङ्), हात्ती सफारीलगायत गतिविधि सञ्चालन भइरहेका उनले जानकारी दिए । सामुदायिक वन क्षेत्रमा हात्ती सफारी भइरहेको उनले बताए । प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘कुमरोज वन क्षेत्रमा जिप सफारीको गतिविधि भइरहेको छ ।’
मौसमको परिस्थिति हेरेर मात्र निकुञ्जका अन्य स्थानमा जिप सफारी सञ्चालन गरिने उनले बताए । असोज १६ गतेदेखि जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको भए पनि पानी परिरहेकाले परिस्थिति अनुसार निर्णय गरिने पुनले उल्लेख गरे ।