वीरगन्ज । वीरगन्वमा लोडरको ठक्करबाट गम्भीर घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । मृतकको अझैसम्म सनाखत हुन नसकेकोले जिल्ला प्रहरी कार्यालय पर्साले शव चिन्ने जो कोहीलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको विज्ञप्ति अनुसार, २०८२ जेठ १२ गते राति ८ः३५ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर ०७ रेलवे रोड कुमाल टोलमा मधेश प्रदेश ०३–००२ स ४३८८ नम्बरको लोडर गाडीले पैदल यात्रीलाई ठक्कर दिएको थियो । उक्त लोडर पर्सा, वीरगन्व महानगरपालिका वडा नम्बार १६ भुटनदेवी टोल बस्ने २९ वर्षीय नारायण प्रसाद वर्णवालका छोरा किसन वर्णवालले चलाएका थिए ।
लोडरको ठक्करबाट नाम, घर, वतन नखुलेका करिब २८ वर्षीय तराई मूलका जस्तो देखिने पुरुषको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उपचारका लागि नारायणी अस्पताल वीरगन्ज लगिएकोमा त्यहाँ उपचार हुन नसकी थप उपचारका लागि एल.एस. न्युरो एण्ड जेनरल अस्पताल परवानीपुर, बारामा रेफर गरिएको थियो । परवानीपुर अस्पतालमा चिकित्सकले चेकजाँच गर्दा २०८२ जेठ १३ गते बिहान १२ः३५ बजे उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरी टोलीले घटनास्थलमा पुगी मृतकको लासजाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको छ । मृतकको शव हाल नारायणी अस्पताल वीरगन्ज, पर्साको शव गृहमा राखिएको छ ।
मृतकको हुलिया :
लम्बाई : ५ फिट ६ इन्च
आकासे रङ्गको हाफ टि–सर्ट लगाएको
निलो जिन्स पाइन्ट लगाएको
तराई मूलको जस्तो देखिने
शरीर : मझौला
मृतकलाई चिन्ने जो कोहीले ९८५५०९०१३६, ९८५५०९०३२९ वा ९८५५०२८२८५ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।