बारा । बारा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८२ जेठ १५ गते बिहान ११:४० बजेको समयमा अमलेखगञ्जस्थित चेक प्वाइन्टमा सवारी साधन जाँच गर्ने क्रममा दुई पुरुष लागुऔषधसहित नियन्त्रणमा परेका हुन् ।
प्रहरी नायव उपरीक्षक डिएसपी विजयराज पण्डितद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, बी.आर. ०१ बि.यु. ३४८५ नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा कारको विभिन्न भागमा लुकाई छिपाई ल्याएको अवस्थामा २१६० पत्ता (२१,६०० ट्याबलेट) ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल र ओनेरेक्स-१००एम (ONEREX-100M) लेखिएको ७६ बोतल बरामद भएको छ ।
पक्राउ पर्नेमा कार चालक भारत, भैसाली ग्राम हुसेनारा वडा नं. १२ बस्ने २७ वर्षीय धिरज कुमार सिंह र सोही गाडीमा सवार भारत, मोतिहारी ग्राम कटगेनवा वडा नं. २ बस्ने १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन् ।
प्रहरीले बरामद लागुऔषध र पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत आवश्यक कानूनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।