जनकपुरधाम । गणतन्त्रको दिवसको अवसर पारेर मधेश केन्द्रित राजनीतिक गर्दै आएका साना दलहरु मिलेर औपचारिक रुपमा ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गरेका छन् ।
जनकपुरधाममा बिहीबार संघीय गणतान्त्रिक गठबन्धन घोषणा समारोहको आयोजना गर्दै मधेश केन्द्रित पाँच साना दलहरुले गठबन्धन घोषणा गरेका छन् । सो गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छ ।
सो घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै वास्ताविक गणतन्त्रको स्थापना र रक्षा गर्न गठबन्धन बनाएको दाबी गरे । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए । कथित मधेशका मसिहा कहलाउनेहरुले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने गरेको भन्दै आक्रोश पोखे ।
उनले दलाल पुँजीपति, भ्रष्ट नेता रकर्मचारीहरुका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अध्यक्ष अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरुले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफूहरुको गठबन्धन जनताको लागि र मधेशको अधिकार सुनिश्चित गर्नका लागि आवश्यकता अनुसारको गठबन्धन गरिएको बताए ।