ट्रेन्डिङ

‘भिजिट भिसा’ प्रकरणमा मेरो संलग्नता छैन : गृहमन्त्री लेखक

वीरगन्ज । ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।

उनले आफूमाथि राजनीतिक पूर्वाग्रह राखेर राजीनामा मागिएको भन्दै, राष्ट्रसेवक कर्मचारीमाथि भइरहेको अनुसन्धानलाई त्यसको पूर्णता नपाउँदै नेतृत्वसँग जोड्ने प्रवृत्तिले शासन व्यवस्था नै ठिक ढंगले चल्न नसक्ने तर्क गरेका छन्।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै अनुसन्धानको प्रक्रियालाई राजनीतिकरण गर्न नहुनेमा जोड दिए।

गृहमन्त्री लेखकले प्रश्न गरे, ‘यदि पार्टीको एक कार्यकर्तामाथि अनुसन्धान भयो भने पार्टी अध्यक्ष वा सभापतिले राजीनामा गर्नुपर्ने, सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुरा उठ्ने बित्तिकै राजीनामा दिनुपर्यो भने स्थिति के हो ?’ उनले कुनै पनि विषयलाई गम्भीरतापूर्वक लिएर त्यसको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए।

गृहमन्त्री लेखकले विगतमा पनि विभिन्न विषयमा सञ्चारमाध्यममा समाचार आएका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी अभियोजनसमेत गरेका अवस्थामा पनि नेतृत्वले पद त्याग नगरेको दृष्टान्त पेस गरे।

‘तर न्याय त मैले पनि पाउनुपर्ने होला नि ? कि न्याय नपाउनुपर्ने नागरिक हो यो देशको ?’ उनले आफ्नो विरुद्ध कुनै उजुरी वा कुनै छानबिन भइरहेको अवस्था नरहेको स्पष्ट पार्दै भने, ‘यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीसँग भइरहेको अनुसन्धानलाई राजनीतिक नेतृत्वसँग जोड्दै जाने हो भने कसरी यो सम्भव होला ?’ उनले आफूले कसैमाथि दोषारोपण नगरेको तर यो प्रवृत्तिले समग्र शासन प्रणालीमाथि प्रश्नचिह्न खडा गरेको बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै