ट्रेन्डिङ

एमालेको गणतन्त्र उत्सव : ‘यो कसैको विरोध होइन, जनताको गौरव र खुशीयालीको दिन हो’ – महासचिव पोखरेल

वीरगन्ज । नेकपा (एमाले) ले गणतन्त्र दिवसलाई कसैको विरोध गर्ने माध्यमका रूपमा नभई जनताको खुशी र गौरवको उत्सवका रूपमा मनाउन लागेको बताएको छ।

पार्टीका महासचिव शङ्कर पोखरेलले भोलि आयोजना गरिने ‘गणतन्त्र उत्सव’ मार्फत जनउपलब्धिको सन्देश प्रवाह गरिने जानकारी दिएका छन्। ललितपुरको च्यासस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले गणतन्त्रलाई उत्सवको रूपमा मनाउने थालनी आफूहरूले भोलिको कार्यक्रमबाट सन्देश दिन खोजेको बताए।

‘संविधान सभाका ऐतिहासिक फैसला स्वीकार गरेका पूर्व राजा ज्ञानेन्द्र र संविधानको विपक्षमा लोकतन्त्रको विरोधमा जुन खालको गतिविधि गरिरहेको हामीले देखिरहेका छौं,’ उनले भने, ‘त्यस्तो अवस्थामा नेपाली जनतालाई गणतन्त्रका उत्सवका रूपमा हाम्रो पार्टीले महसुस गर्यो र त्यसै अनुरुप जेठ १५ गतेलाई गणतन्त्र उत्सवमा मनाउने निर्णय गर्यो।’

जनता सार्वभौमसत्ता सम्पन्न भएको ऐतिहासिक दिनलाई कमजोर बनाउन नहुने भन्दै जनताको खुशीयालीमार्फत यसको सन्देश प्रवाह गर्न लागिएको उनको भनाइ थियो।

एमालेले भोलिको उत्सवलाई सांस्कृतिक झाँकी सहित भव्य बनाउने तयारी गरेको छ। महासचिव पोखरेलका अनुसार, मुलुकको भाषिक, जातीय र सांस्कृतिक विविधता झल्काउने गरी विभिन्न जातजातिका समुदायको भेषभुषा, बाजागाजा र सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिनेछ। यसले कार्यक्रममा एउटा विशिष्ट छाप छाड्ने विश्वास लिइएको छ।

महासचिव पोखरेलले अब मुलुकको सम्पूर्ण ध्यान राजनीतिक व्यवस्थाबाट विकास र समृद्धिको दिशातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक दलहरूबीच सहमति भए गणतन्त्र दिवसलाई विशेष समारोह गर्ने गरी संविधान संशोधन गर्न र बजेट प्रस्तुत गर्ने दिनलाई फरक दिनमा लैजान उपयुक्त हुने सुझावसमेत दिए।

‘हाम्रो कार्यक्रम कसैको विरोध होइन, जनताको उपलब्धिको खुशीयाली साटासाट गर्ने समारोहका रूपमा आयोजना गर्न थालेका हौं,’ उनले स्पष्ट पारे। उनले एमाले मात्र होइन, सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई जेठ १५ गतेको गणतन्त्र उत्सव समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवका रूपमा मनाउन हातेमालो गर्न आग्रह पनि गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै