जनकपुरधाम । देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमाथि भइरहेका विभिन्न चुनौतीहरूको सामना गर्दै यसको रक्षा र सुदृढीकरणका लागि पाँच राजनीतिक दलहरूले ‘संघीय गणतान्त्रिक गठबन्धन’ घोषणा गर्ने भएका छन्।
भोली जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर जनकपुरधाममा यस गठबन्धनको औपचारिक घोषणा गरिनेछ। जनकपुरधाममा सम्पन्न उच्चस्तरीय बैठकपछि नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष मो. रिजवान अन्सारीले रगत बगाएर ल्याएका लोकतान्त्रिक उपलब्धिहरूको रक्षाका लागि गठबन्धन अनिवार्य भएको बताएका छन् ।
अध्यक्ष अन्सारीले गठबन्धनको मुख्य उद्देश्य ‘जनताका मुद्दामा केन्द्रित भएर काम गर्ने’ र ‘रगत बगाएर ल्याएको गणतन्त्र, संघीयता र समावेशीतालाई कमजोर पार्ने प्रयास’ विरुद्ध उभिने रहेको स्पष्ट पारेका छन्। उनले वर्तमान राजनीतिक अवस्थामा यी उपलब्धिहरूलाई कमजोर पार्ने प्रयास भइरहेको भन्दै त्यसको प्रतिरोधका लागि नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याए।
पाँच दलको एकता, नयाँ राजनीतिक शक्तिको उद्घोष
संघीय गणतान्त्रिक गठबन्धनमा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल सद्भावना पार्टी, नेपाल जनजागृति पार्टी र ऐतिहासिक जनता पार्टी सामेल छन्। बैठकमा सहभागी अन्य नेताहरूले पनि यस गठबन्धनलाई ‘नयाँ युगको राजनीतिक आवश्यकता’ र ‘जनताको भावना अनुसारको कदम’ भनेका छन्।
बहुजन एकता पार्टी नेपालका अध्यक्ष हरिनन्दन कुमार रंजनले बहुजन, दलित, आदिवासी, मुस्लिम, मधेशी, महिला, युवा लगायत पछाडि पारिएका समुदायका आवाजलाई स्थापित गर्न वैकल्पिक राजनीतिक शक्ति निर्माण अत्यावश्यक भएको बताए।
नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले सद्भाव, समानता र समावेशीताका आधारमा राजनीति गर्दै समग्र मधेश र सिमान्तकृत समुदायको समृद्धि र सम्मानको बाटो खोल्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल जनजागृति पार्टीका अध्यक्ष डि.पी. निषाद सहनीले निषाद, दलित, पिछडा, मुस्लिम र अन्य श्रमिक वर्गका आवाजलाई संविधान र नीति निर्माणको मूलधारमा ल्याउन गठबन्धनमार्फत जनताको सरकार निर्माण गर्ने लक्ष्य रहेको बताए।
ऐतिहासिक जनता पार्टीका अध्यक्ष बद्री ठाकुरले देश र मधेशका उत्पीडित जनताको वास्तविक राजनीतिक शक्ति अब निर्माण हुन लागेको र यसले सहिदहरूका सपनाहरूलाई साकार पार्ने दाबी गरे।
गठबन्धनले घोषणापत्र तयारी, सांगठनिक संरचना निर्माण, प्रचार रणनीति र दीर्घकालीन कार्ययोजना तय गर्ने जिम्मेवारी संयुक्त रूपमा लिएको छ। बैठकले संघीय गणतान्त्रिक गठबन्धन घोषणा गर्ने सबै तयारी पूरा भइसकेको जनाएको छ।