ट्रेन्डिङ

पर्सामा गणतन्त्रको १७औं उत्सव : प्रमुख दलहरू एकसाथ दिपोत्सव गर्ने

वीरगन्ज । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको अवसरमा पर्सा जिल्लाका प्रमुख राजनीतिक दलहरूले एकसाथ गणतन्त्र दिवस मनाउने भएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, (जसपा) नेपाललगायतका गणतन्त्रवादी दलहरुको संयुक्त आयोजनामा भोली जेठ १५ गते साँझ ६ बजे वीरगन्जको ऐतिहासिक माइस्थान मन्दिर अगाडि भव्य दिपोत्सव कार्यक्रम आयोजना गरिएको छ। यसले गणतन्त्रप्रतिको साझा प्रतिबद्धता र दलहरूबीचको एकताको सन्देश दिएको छ।

नेपालको राजनीतिक इतिहासमा २०६५ साल जेठ १५ गतेको दिनलाई स्वर्णिम अक्षरले लेखिएको छ। आजभन्दा ठीक १७ वर्षअघि, जनताको लामो संघर्ष, बलिदान र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको बलमा तत्कालीन २४० वर्ष लामो शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। यो घोषणा केवल राजनीतिक परिवर्तन मात्र थिएन, बरु नेपाली जनताको सार्वभौमसत्ता र राजकीय सत्ता जनतामै निहित भएको ऐतिहासिक क्षण थियो।

पर्सामा गणतन्त्र दिवसका अवसरमा विभिन्न राजनीतिक दलहरूले संयुक्त रूपमा कार्यक्रम आयोजना गर्नुले लोकतान्त्रिक मूल्यमान्यता र गणतन्त्रप्रतिको साझा आस्थालाई प्रतिबिम्बित गर्दछ। यो एकताले राजनीतिक मतभेदलाई बिर्सेर राष्ट्रिय पर्वमा एकसाथ उभिनुपर्ने सन्देश दिएको एमाले पर्साका सचिव महेश दासले बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै