ट्रेन्डिङ

बङ्गालको खाडीबाट अघि बढ्यो मनसुन, कुन-कुन प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण देशभरको मौसममा बदली र वर्षाको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने केही स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

मौसमको अवस्था यस्तो छ

हाल कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

त्यस्तै, मधेस तथा लुम्बिनी प्रदेशमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका केही स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षासहित हिमपात हुन सक्ने अनुमान गरिएको छ।

राति मौसम कस्तो हुने?

आज राति पनि मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कतिपय स्थानमा चट्याङसहित वर्षाको सम्भावना कायम छ। हिमाली क्षेत्रमा फेरी पनि हिमपातको सम्भावना रहेकोले सतर्क रहन आग्रह गरिएको छ।

मनसुन दक्षिण एशियामा विस्तार हुँदै

हाल मनसुन अरब सागरको मध्य भाग, भारतको महाराष्ट्र, मुम्बई, कर्नाटका, तमिलनाडु, तेलङ्गाना, त्रिपुरा, मेघालय, मनिपुर र अरुणाचल प्रदेश हुँदै बङ्गालको खाडीको केही भूभागमा सक्रिय भएको छ। नेपालतर्फ अझै मनसुन प्रवेश गर्न बाँकी रहे पनि जलवाष्पयुक्त हावा भित्रिन थालेकोले असर देखिन थालेको मौसमविद्हरूको भनाइ छ।

महाशाखाको चेतावनी: सतर्क रहनुहोस्

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विशेष गरी चट्याङसहितको वर्षा र हिमपातको सम्भावनाले दूरदराजका क्षेत्रमा असर पुर्‍याउन सक्ने भएकाले सचेत रहनुपर्ने जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै