ट्रेन्डिङ

प्रधानमन्त्रीको अभिव्यक्ति ‘उत्तेजनापूर्ण’, मुठभेड निम्त्याउन सक्छ : आयोग

वीरगन्ज । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेको प्रदर्शनबारे दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ‘मुठभेड निम्त्याउन सक्ने चिन्ताजनक र उत्तेजनापूर्ण’ रहेको ठहर गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले राजावादी संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा गर्ने प्रदर्शनका विषयमा आइतबार प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ’ भनी दिएको अभिव्यक्ति विधिको शासन विपरीत भएको उल्लेख गरेको छ।

आयोगका प्रवक्ता एवं सहसचिव डा. टीकाराम पोखरेलले हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘देशको शान्ति सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी सरकारका सुरक्षा निकायको हुँदाहुँदै लोकतान्त्रिक मुलुकमा कुनै पनि पार्टी विशेषबाट कुनै पनि क्षेत्र कब्जामा लिनु भनेको विधिको शासनविपरीत हुनुका साथै, निषेधलाई प्रश्रय दिनु हो भन्ने आयोगको बुझाइ छ।’

आयोगले शान्तिपूर्ण तवरबाट विचार र अभिव्यक्ति राख्न नेपालको संविधान र कानुनले निषेध नगरेको स्पष्ट पार्दै, ‘यस परिस्थितिमा अरुको विचार, अभिव्यक्ति र प्रदर्शनप्रति लक्षित गरी सम्माननीय प्रधानमन्त्रीबाट आएको उक्त अभिव्यक्ति चिन्ताजनक छ,’ भनी विज्ञप्तिमा जनाइएको छ।

आयोगले प्रधानमन्त्रीसहित अन्य पक्षलाई पनि आफ्नो अभिव्यक्ति दिँदा संयमित हुन, अरु व्यक्ति, समूह वा पार्टी लक्षित नकारात्मक टीकाटिप्पणी नगर्न आग्रह गरेको छ। साथै, सुरक्षा निकायलाई राजधानीलगायतका क्षेत्रको शान्तिसुरक्षालाई मजबुत बनाउन तथा सबै विरोध र प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगले आह्वान गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै