ट्रेन्डिङ

बारामा न्यायिक समितिको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कलैया । स्थानीय तहमा न्याय सम्पादनको कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले बारामा न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आयोजित यस कार्यक्रमले न्यायिक प्रक्रियाको आधारभूत ज्ञान र व्यावहारिक सीप विकासमा जोड दिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले स्थानीय तहमा आम जनतालाई न्यायमा पहुँच पुर्‍याउन न्यायिक समितिको भूमिका अतुलनीय रहेको बताए । ‘समुचित तालिम, स्पष्ट प्रक्रिया र व्यवहारिक ज्ञान बिना न्यायिक समितिले अपेक्षित परिणाम दिन सक्दैन,’ उनले भने, ‘यस कार्यक्रमले प्रतिनिधिहरूको क्षमतामा गुणात्मक सुधार ल्याउनेछ, जसले दूरदराजका आम जनताले सेवा पाउनेछन्।’

मन्त्री चौरसियाले आफ्नो मन्त्रालयले प्रत्येक जिल्लामा निःशुल्क मुद्दा लड्ने व्यवस्थापन गरेको जानकारी दिँदै, सबै पालिकाको गेटमा निःशुल्क कानुनी सहायता दिने वकिलको फोटो र नम्बर राख्ने तयारी भइरहेको पनि बताए । उनले आगामी दिनमा कानुनमा के(के संशोधन गरेर अझ उत्कृष्ट बनाउन सकिन्छ, त्यस दिशामा मन्त्रालय अगाडि बढेको उल्लेख गर्दै, अब नेपालको कानुनमा अग्रिम जमानतको व्यवस्थापन गर्न कानुन मन्त्रालय अगाडि बढेको समेत जानकारी गराए ।

एकदिने यस तालिममा बारा जिल्लाका करिब ८० जना न्यायिक समितिका संयोजक, सदस्य र कर्मचारीहरूको सहभागिता रहेको थियो। तालिममा न्यायिक प्रक्रियाको आधारभूत अवधारणा, स्थानीय तहमा समाधान गर्नुपर्ने विवादका प्रकृति, मध्यस्थता तथा मेलमिलाप प्रक्रिया, कानुनी लेखाजोखा तथा फैसला लेखनजस्ता विषयमा विज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए।

समापन सत्रमा सहभागीहरूले तालिम अत्यन्त उपयोगी रहेको प्रतिक्रिया दिए। कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रवीणले ‘सामान्य विवाद समाधान गर्दा अब हामीलाई प्रक्रिया बुझ्न सजिलो भएको छ। यो कार्यक्रमले हामीमा ऊर्जा थपेको छ,’ भन्दै खुशी व्यक्त गरिन्।

जिल्ला न्यायाधीश कोमल प्रसाद आचार्यले न्यायिक समितिका पदाधिकारीहरूलाई न्याय सम्पादन गर्दा स्वच्छता, निष्पक्षता र व्यावहारिक सिद्धान्त अवलम्बन गर्न सुझाएका थिए । उनले न्यायिक समितिबाट न्याय सम्पादन गर्दा अपनाउनुपर्ने प्रक्रियाका बारेमा विस्तृत जानकारी गराए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी सह–सचिव उर्मिला जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आदर्श कोत्वाल गाउँपालिकाका अध्यक्ष जवाहर साह, कांग्रेस बाराका सचिव भैयाराम यादव, सह–सचिव प्रमोद यादव, महागढीमाई नगरपालिकाकी उपप्रमुख तारा देवी कानु, जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला अधिकारी, कोल्हबी उपमेयर लक्ष्मी कुमारी चौधरी, निजगढ उपमेयर सोममाया थिङ, पचरौता उपमेयर नसिमा खातुन लगायत सरोकारवालाहरूको उपस्थिति थियो। मन्त्रालयकी शाखा अधिकृत भावना वर्णवालले सञ्चालन गरेको कार्यक्रममा महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै