ट्रेन्डिङ

समाजवादी प्रेस संगठनमा विद्रोह : केन्द्रदेखि जिल्लासम्म सामूहिक राजीनामा, नेतृत्वमाथि ‘हैकमवाद’ को आरोप

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस संगठन नेपालभित्र चरम असन्तुष्टि र आन्तरिक विवाद चुलिँदै गएको छ।

सोमबार संगठनका केन्द्रीय सल्लाहकार तथा निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित पर्सा जिल्लाका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँको नेतृत्वमा ठूलो सङ्ख्यामा सदस्यहरूले साधारण सदस्यतासमेत नरहने गरी राजीनामा दिएका छन्। यसअघि आइतबार नै संगठनका केन्द्रीय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज सुभाष साहले पनि पदबाट राजीनामा दिँदै पार्टीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका थिए।

राजीनामा दिने समूहले संगठनभित्र हैकमवाद, चापलूसी र एकाधिकार शैली बढेको आरोप लगाएको छ। पर्सा जिल्लामा करिब दुई वर्षदेखि चल्दै आएको विवाद र गुटबन्दीलाई नेतृत्वले बेवास्ता गरेको तथा समस्या समाधान गर्नुको सट्टा थप बल्झाएको उनीहरूको भनाइ छ। ‘संगठनमा विधि, विधानको उल्लङ्घन गर्ने, सर्वसम्मतिको निर्णय कार्यान्वयन नगर्ने प्रवृत्ति देखिएकाले झोले संगठनमा बस्न उचित नरहेको’ राजीनामा पत्रमा उल्लेख छ।

पर्सा संगठनमा विवाद चल्दै गर्दा बारम्बार प्रचार विभाग र पार्टीमा उजुरी गरिए पनि समाधान नभएको राजीनामा पत्रमा भनिएको छ। २०८१ माघ ६ गते संगठनको कार्यवाहक अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारी र सल्लाहकारहरूको संयुक्त बैठकले पर्सा जिल्लामा रहेका दुई समानान्तर कमिटी विघटन गरी अजय चौरसिया संयोजक रहने गरी आयोजक कमिटी बनाउने सर्वसम्मत निर्णय गरेको थियो। तर, उक्त निर्णय पार्टी अध्यक्ष माधवकुमार नेपालको निर्देशनमा कार्यान्वयन नभएको आरोप राजीनामा दिने समूहले लगाएको छ।

केन्द्रीय उपाध्यक्षको पनि गम्भीर आरोप
केन्द्रीय उपाध्यक्ष सुभाष साहले आफ्नो राजीनामामा एकीकृत समाजवादीको औचित्यमाथि नै प्रश्न उठाएका छन्। एमालेबाट विभाजन भई गठन भएको एकीकृत समाजवादीमा पनि विधि, विधान उल्लङ्घन गर्ने कार्य चरम सीमामा पुगेको उनको भनाइ छ।

‘एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुवैको कार्यशैली उस्तै, विधान उल्लङ्घन गर्ने, मनोमानी गर्ने, हैकमवाद शैलीमा अगाडि बढ्ने भएपछि एकीकृत समाजवादीको औचित्य र आवश्यकता नभएको’ ठहर साहले गरेका छन्। उनले एकीकृत समाजवादीलाई विघटन गरी अन्य पार्टीसँग मर्ज गर्दा राम्रो हुने सुझावसमेत दिएका छन्।

पर्सा जिल्लाको विवाद समाधानका लागि आफूले निरन्तर प्रयास गर्दा पनि पार्टी र संगठनका नेताहरूको दबाब र निर्देशनमा विधि, विधानविपरीत हैकमवाद शैलीमा संगठन चलाउन खोजेपछि राजीनामा दिन बाध्य भएको साहले बताए। ‘संगठन आफ्नै निर्णयको आधारमा अगाडि नबढेको, विधि, प्रक्रिया, विधान उल्लङ्घन गर्ने काम भएकाले मलाई त्यो स्वीकार्य नभएको जानकारी साथ आजकै मितिदेखि संगठनको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएको जानकारी गराउँदछु,’ उनको राजीनामा पत्रमा उल्लेख छ।

राजीनामा दिनेहरूको सूची
राघव साह र आशमहम्मद मियाँका साथै संगठन पर्साका दीपक कुशवाहा, राम अनुप यादव, श्रीराम रौनियार, जय कुमार यादव, रामेश्वर चौरसिया, अजय चौरसिया, दिपेन्द्र गिरी, रञ्जित चौरसिया, राकेश जायसवाल, बिरेन्द्र भट्टराई, रोशन कुमार, मयंक गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, बिनय कुमार मुखिया, सागर कुमार, दीपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायतका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन्। यो घटनाले समाजवादी प्रेस संगठन नेपालभित्रको आन्तरिक कलह सार्वजनिक भएको छ भने पार्टीभित्र पनि यसको असर देखिन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै