ट्रेन्डिङ

राजावादी भ्रम चिर्न एमालेको शक्ति प्रदर्शनः जेठ १५ का लागि को–कसलाई के जिम्मा !

वीरगन्ज । नेकपा एमालेले जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा आयोजना गर्ने बृहत जनप्रदर्शनलाई सफल बनाउन नेताहरूलाई विशेष जिम्मेवारी तोकेको छ।

राजावादीहरूको भ्रम चिर्न र गणतन्त्र दिवसलाई स्मरणीय बनाउन आयोजित यस प्रदर्शनका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान सम्पन्न भेलाले शक्ति परिचालनको विस्तृत योजना सार्वजनिक गरेको हो।

एमाले महासचिव शङ्कर पोखरेलका अनुसार, यो जनप्रदर्शन गणतन्त्र दिवसलाई आम जनताले सम्झिने गरी भव्यताका साथ मनाउन र राजावादी शक्तिहरूले फैलाएका भ्रमलाई चिर्नका लागि तयारी गरिएको हो। जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका तीनै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरूको भेलामा महासचिव पोखरेलले नेताहरूको जिम्मेवारी बाँडफाँडबारे जानकारी गराएका थिए।


जनप्रदर्शनमा व्यापक जनसहभागिता जुटाउन र कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न नेताहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ:

  • काठमाडौँ जिल्ला परिचालन: काठमाडौँबाट अधिकतम जनसहभागिता जुटाउने जिम्मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।
  • जनसङ्गठन समन्वय: पार्टीका सबै जनसङ्गठनहरूको संयोजन गर्ने जिम्मेवारी सचिव गोकर्ण विष्टलाई तोकिएको छ। उहाँलाई सबै जनसङ्गठनका इन्चार्जहरूले सहयोग गर्नेछन्।
  • सम्पर्क समन्वय: एमालेको ठूलो जनआधार मानिने सम्पर्क समन्वयको जिम्मेवारी भूगोलअनुसार फरक-फरक नेताहरूलाई दिइएको छ:
    • सुदूरपश्चिम र कर्णाली प्रदेश: सचिव लेखराज भट्ट
    • बागमती प्रदेशका जिल्ला: उपमहासचिव प्रदीप ज्ञवाली
    • लुम्बिनी र गण्डकीका सबै जिल्ला: सचिव पद्मा अर्याल
    • कोशी प्रदेशका जिल्ला: उपाध्यक्ष रामबहादुर थापा (बादल)
    • मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्च: उपाध्यक्ष युवराज ज्ञवाली
  • ललितपुर र भक्तपुर समन्वय: उपत्यकाका यी दुई जिल्लाबाट ठूलो सङ्ख्यामा जनप्रदर्शनमा सहभागी गराउने जिम्मेवारी क्रमशः उपाध्यक्ष अष्टलक्ष्मी शाक्यगुरु बराललाई तोकिएको छ।
  • उपत्यका बाहेकका बागमती जिल्ला: उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ।
  • स्वयंसेवक परिचालन: उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई स्वयंसेवक परिचालनको जिम्मेवारी तोकिएको छ।
  • उपत्यका विशेष संयोजन: सचिव योगेश भट्टराईले उपत्यका विशेषको संयोजन गर्नेछन्।
  • सबै विभागको संयोजन: सचिव छविलाल विश्वकर्मालाई पार्टीका सबै विभागहरूको संयोजनको जिम्मेवारी दिइएको छ।

भेलाले जेठ १५ गते बिहान ११ बजे भृकुटीमण्डपमा एमालेका नेता, कार्यकर्ता, झाँकी र जुलुससहित आफ्नो पार्टी र जनसङ्गठनको पहिचानसहित उपस्थित हुन निर्देशन दिएको छ। हिजोको सचिवालय बैठकले जेठ १५ गते काठमाडौँसहित देशभरका सबै पालिकाहरूमा गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो। यस जनप्रदर्शनले गणतन्त्रको महत्त्वलाई थप उजागर गर्ने एमालेको विश्वास छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै