ट्रेन्डिङ

नवनियुक्त मन्त्री कुशवाहा र जनमतका शीर्ष नेताहरूबीच भेट, विकास–रोजगारीमा जोड

वीरगन्ज । मधेश प्रदेशका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुमार कुशवाहाले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत पार्टीका शीर्ष नेताहरूसँग भेटघाट गरेका छन्।

आइतबार जनमत पार्टी केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा भएको भेटमा नेताहरूले मन्त्री कुशवाहालाई मधेश प्रदेशको औद्योगिक विकास र रोजगारी सिर्जनामा विशेष ध्यान दिन सुझाव दिएका छन्।

भेटमा जनमत पार्टीका नेताहरूले मधेश प्रदेशमा उद्योग कलकारखानाको वर्तमान अवस्थाको विस्तृत अध्ययन गरी नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न ठोस योजना ल्याउन मन्त्री कुशवाहालाई आग्रह गरेका थिए। यसका साथै, मधेशमा पर्यटनको प्रचुर सम्भावना रहेको औँल्याउँदै त्यसको अध्ययन अनुसन्धान गरी धार्मिक पर्यटनलाई आकर्षित गर्ने गरी योजना ल्याउन पनि सुझाव दिएको पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले जानकारी दिए।

गत बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषदमा हेरफेर गर्दै जनमत पार्टीका दुई जना मन्त्रीलाई फिर्ता बोलाएर इन्जिनियर बसन्त कुमार कुशवाहालाई मन्त्रीको जिम्मेवारी दिएका थिए।

यस महत्वपूर्ण भेटघाटमा अध्यक्ष डा. सीके राउत, उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरद सिंह यादव लगायतका जनमत पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। मन्त्री कुशवाहाको यो भेटघाटलाई मधेस प्रदेशको औद्योगिक, वाणिज्यिक र पर्यटन क्षेत्रको विकासमा जनमत पार्टीको प्राथमिकता र सहकार्यको रूपमा हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै