जनकपुरधाम । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि भ्रष्टाचारको आरोप लगाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने र छानबिनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिरहेकै बेला जनकपुरधाममा गृहमन्त्री लेखकले भिजिट भिसाको सम्बन्धमा केही दिनमै बोल्ने बताएका छन् ।
जनकपुरधाममा शनिबार नेपाली कांग्रेस धनुषा पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासङ्ग भेटघाटको क्रममा गृहमन्त्री लेखकले आफूमाथि लागेको आरोप बारे दुई/चार दिनमा बोल्ने बताए ।
गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ । दुई/तीन दिन किन चुप लागेर बसेका थिए । यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजी राखे थिए । यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। आजै काठमाडौं गएपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई÷चार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।’
धनुषाका नेता तथा कार्यकर्तासंगको कुराकानीको क्रममा भिजिट भिषाको विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको उनले बताए ।
गृहमन्त्री लेखकले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैन । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैन ।’
आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए ।