ट्रेन्डिङ

वीरगन्जका बेकरी उद्योगको निरीक्षण गर्दा भेटियो सफाइमा कमजोरी, तत्काल सुधारको निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्रका खाद्य उद्योगहरूमा निगरानी बढाउँदै बेकरी उद्योगहरूको निरीक्षण सुरु गरेको छ ।

शुक्रबार यहाँस्थित खाद्य प्रविधी तथा गुण नियन्त्रण र वातावरण शाखाबाट खटिएको टोलीले रानीघाट क्षेत्रका बेकरी उद्योगहरूको निरीक्षण गरेको हो ।

निरीक्षण टोलीले शीला बेकरी र गीता बेकरीको स्थलगत अवलोकन गर्दै उत्पादन प्रक्रिया, सरसफाइ अवस्था, कच्चा पदार्थको भण्डारण तथा प्याकेजिङ प्रणालीको अध्ययन गरेको थियो ।

निरीक्षणमा सरिक वातावरण शाखा प्रमुख प्रकाश ऐरका अनुसार दुवै बेकरीमा उत्पादन स्थलको सरसफाइ सन्तोषजनक नभएको पाइएको छ।

उनी भन्छन्, “बेकरीमा उत्पादन गर्ने स्थानहरू फोहोर थिए, उपकरणहरू पनि राम्रोसँग सफा गरिएको थिएन । स्वच्छता अभावले खाद्य सामग्रीमा प्रतिकूल असर पार्ने र उपभोक्ताको स्वास्थ्यमा जोखिम हुने सम्भावना हुन्छ।”

उनका अनुसार उत्पादन स्थलमा देखिएको सरसफाइको लापरवाहीलाई गम्भीरतापूर्वक लिइएको छ र सम्बन्धित उद्योगहरूलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । यद्यपी निरीक्षणका क्रममा म्याद समाप्त भएका कुनै पनि सामग्री भने फेला परेनन् ।

टोलीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, तयार पारिएका सामग्री, प्याकेजिङ प्रणाली, भण्डारणको तरिका र सम्पूर्ण कार्यस्थलको सरसफाइ अवस्था जाँच गरेको थियो। निरीक्षणपछि दुबै उद्योगलाई खाद्य सुरक्षा तथा सरसफाइसम्बन्धी मापदण्डको पूर्ण पालना गर्न लिखित रूपमा निर्देशन दिइएको छ।

अनुगमन महानगर प्रमुख राजेशमान सिंहको विशेष निर्देशनमा सञ्चालित बजार अनुगमन तथा खाद्य सुरक्षा अभियानअन्तर्गत गरिएको हो । प्रमुख सिंहले महानगरभित्र सञ्चालित खाद्य व्यवसायहरूलाई व्यवस्थित गर्दै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने महानगरको प्राथमिकता रहेको बताए ।

“हामी उपभोक्ताको स्वास्थ्यसँग कुनै सम्झौता गर्न सक्दैनौं,” उनले भने, “स्वास्थ्यविपरीत खाद्य वस्तु उत्पादन वा बिक्री वितरण गर्ने व्यवसायहरूलाई चेतावनी दिइनेछ र आवश्यक परेमा कानुनी कारबाही पनि गरिनेछ।”

उपभोक्तालाई सुरक्षित खाद्य अधिकार सुनिश्चित गर्न महानगरले नियमित अनुगमनलाई निरन्तरता दिने छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै