जनकपुरधाम । वैदेशिक रोजगारीमै रहेका बेला आफ्नो गाउँठाउँको विकासका लागि केही गर्ने धोको लिएका युवाहरुले समाजमा रचनात्मक विकासका लागि एकजुट भएका छन् ।
स्थानीय युवाहरुले दलित, अति विपन्न, लक्षित वर्ग तथा पिछडिएकाहरुको जीवनस्तर उकास्नका लागि युवा एकता समाज नामक संस्था स्थापना गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८ स्थित दिगम्बपुरमा एक कार्यक्रम बीच युवा एकता समाज संस्थाको उद्घाटन गरिएको छ ।
क्षीरेश्वरनाथ नगरपालिकाका मेयर सुखदेव यादवले युवाहरुले गरेको रचनात्मक कार्यको सराहना गरे । उनले गाउँ समाजमा युवाहरुले चाहेमा जस्तोसुकै विकास निर्माण कार्यदेखि समाजमा सकारात्मक प्रभाव पार्नका लागि पनि युवाको भूमिका अपरिहार्य रहेको बताए ।
युवा एकता समाजका अध्यक्ष अजितकुमार महतोको अध्यक्षतामा भएको सो कार्यक्रममा उपमेयर रचना माथेमा, क्षीरेश्वरनाथ नगरपालिका– ८ का वडाध्यक्ष मोदकुमार महतो, समाजसेवी रामसिठ महतो, वृजभुषण कुशवाहालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका छन् । सो कार्यक्रमको उद्घोषण रामनारायण लाल कर्णले गरेका थिए ।
वैदेशिक रोजगारीको शिलशिलामा रहेका कतार र मलेसियामा रहेका स्थानीय युवाहरुको एक समूहले विगत चार वर्षदेखि गाउँमा रहेका दलित, विपन्न वर्ग, पीडित परिवारको जिवनस्तर उकास्नका लागि सामूहिक रुपमै विभिन्न माध्यमबाट समाजमा सहयोग गर्दै आएका थिए ।
त्यसैलाई मुर्त रुप दिनका लागि उनीहरुले वैधानिक रुपमा युवा एकता समाज दिगम्बरपुर संस्था गठन गरिएको अध्यक्ष अजितकुमार महतोले जानकारी दिए ।
वैदेशिक रोजगारीमा रहेका युवाहरुले मासिक रुपमा कमाउने तलबको २५ प्रतिशत रकम जम्मा गरी संस्था स्थापना गरिएको उनको भनाइ छ ।
वैदेशिक रोजागारीको क्रममा उनीहरुले करिब २५ लाख रुपैयाँभन्दा बढी जम्मा गरेका छन् भने आफ्नै गाउँठाउँको सामाजिक विकासमा सो रकम खर्चिने र युवाहरुलाई गोलबन्द पार्ने योजना रहेको जनाइएको छ ।
सो समाजको उपाध्यक्षमा दिनेश प्रसाद सिंह, सचिवमा रामनारायण महतो, सहसचिव अनुराधा कुमारी शर्मा र कोषाध्यक्ष उषाकुमारी महतो रहेकी छन् ।
त्यस्तै सदस्यहरुमा बिनयकुमार सिंह, रोशन कुमार महतो, पुनिता देवी, रुकमणी कुमारी, दिपेन्द्र राम र रसिका कुमारी रहेको अध्यक्ष अजितकुमार महतोले जानकारी दिए ।