बारा । बाराको जीतपुरबाट स्रोत नखुलेको ठूलो परिमाणको कपडा, धागो, चप्पल लगायतका खुद्रा सामानसहित एक ट्रक नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, बिहीबार बिहान करिब २:३० बजे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुरस्थित इलाका प्रहरी कार्यालय जीतपुरको चेकपोइन्टमा प्रहरी नायव निरीक्षक राजन सिवाकोटीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट रुपन्देही जाँदै गरेको ना.५ ख ६७४७ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा बिल बिजकभन्दा बढी सामान फेला परेको र त्यसको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएको कपडा, लङ, धागो, चप्पल लगायतका अन्य खुद्रा सामानको अनुमानित मूल्य ५४ लाख ३५ हजार २ सय ७८ रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएको उक्त सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ। यस घटनाले अवैध आयात र राजस्व छली नियन्त्रणमा प्रहरीको सक्रियता देखिएको छ।