वीरगन्ज । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरिएको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ।
उनको योग्यता नपुगेको र गैरकानूनी रूपमा राजनीतिक स्वार्थका आधारमा नियुक्ति गरिएको दाबीसहित सरकार र छनोट समितिलाई विपक्षी बनाई रिट दायर गरिएको हो। अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले संयुक्त रूपमा यो रिट निवेदन पेस गरेका हुन्। उनीहरूले ऐनको प्रावधान विपरीत पौडेलको नियुक्ति भएको जिकिर गरेका छन्।
गत जेठ ६ गतेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको थियो। तर, नियुक्ति भएको केही दिनभित्रै उनको योग्यतामाथि प्रश्न उठ्दै सर्वोच्चमा रिट निवेदन पुग्नुले यो नियुक्ति विवादित बनेको देखाएको छ। हाल उक्त रिट निवेदन दर्ताको प्रक्रियाका लागि छलफलमा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ।
यस रिटमाथि सर्वोच्च अदालतले के निर्णय गर्छ भन्ने कुराले नवनियुक्त गभर्नर पौडेलको वैधानिकता र भविष्यमा राष्ट्र बैंकको नेतृत्वमाथि महत्वपूर्ण प्रभाव पार्नेछ।