ट्रेन्डिङ

पत्रकार डेकेन्द्र थापाको स्मृतिमा सूर्य थापाको प्रचण्डप्रति कडा टिप्पणी

वीरगन्ज । नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कडा आलोचना गरेका छन्।

पत्रकार डेकेन्द्र थापाको स्मृतिमा सामाजिक सञ्जालमा गरिएको लामो टिप्पणीमार्फत थापाले प्रचण्डको पछिल्लो व्यवहारप्रति असन्तोष जनाएका हुन्। डेकेन्द्र थापाको सालिकमा पुष्पकमल दाहालले माल्यार्पण गरेको घटनापछि सार्वजनिक अभिव्यक्ति दिएका थापाले प्रचण्डको यो कदमलाई “नाटक” भन्दै आलोचना गरेका छन्। उनका अनुसार, पत्रकार थापाको हत्या माओवादी द्वन्द्वकालमा भएको घटनाको पृष्ठभूमिमा दोषी नेतृत्वले यस्तो ‘नैतिक अभिनय’ गर्नु दुस्खद र कपटपूर्ण हो।

थापाले लेखेका छन्, “यदि डेकेन्द्र स्वयं आज जीवित हुन्थे भने यस्तो दृश्य हेर्न नसक्ने थिए। प्रचण्डले उनका जस्ता हजारौं नागरिकहरूको जीवन लिएका छन्, आज उनी श्रद्धाञ्जली दिने पात्र होइन, जवाफदेही बन्नुपर्ने पात्र हुन्।”

थापाले प्रचण्डको व्यक्तिगत व्यवहार र पछिल्ला राजनीतिक गतिविधिहरूलाई पनि लक्षित गर्दै कटाक्ष गरेका छन्। उनले लेखेका छन् कि प्रचण्डले आत्मपरीक्षण गर्नुको सट्टा आफ्ना आलोचकहरूलाई निरुत्तर पार्ने प्रयत्न मात्रै गरेका छन्।

थापाले फेसबुक स्टाटसमा प्रचण्डको तुलना पुराणमा उल्लेखित रत्नाकर डाकूसँग गर्दै लेखेका छन्, “प्रचण्ड वाल्मीकि बन्दैनन्, उनी रत्नाकर नै थिए, छन् र रहिरहनेछन्।” उनका अनुसार, प्रचण्डले एकदिन मर्नुपर्छ भन्ने चेत आउने उमेरमा पुगिसकेका छन्, तर त्यसअनुसारको आत्मस्वीकृति र जिम्मेवारी उनले लिएका छैनन्।

डेकेन्द्र थापा २०६१ सालमा माओवादीद्वारा अपहरण गरी क्रुर हत्या गरिएका थिए। उनको स्मृतिमा प्रचण्ड पहिलोपटक दैलेख पुगेर सालिकमा माल्यार्पण गर्न पुगेका थिए। यही घटनाले एमाले नेता सूर्य थापासहित माओवादी हिंसाका पीडित पक्षलाई पुनः आक्रोशित बनाएको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै