ट्रेन्डिङ

मधेश क्रिकेट लिगमा सप्तरीमाथि बाराको शानदार जीत

वीरगन्ज । मधेश क्रिकेट लिग (एमसीएल) सिजन १ को उद्घाटन दिनको खेलमा बाराले उत्कृष्ट प्रदर्शन गर्दै सप्तरीमाथि ७ विकेटको सहज जित हात पारेको छ।

कलैयास्थित सिद्धेश्वर क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा सप्तरीले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। जवाफी इनिङ्समा बाराले १४ ओभर १ बलमै मात्र ३ विकेट गुमाउँदै लक्ष्य हासिल गर्‍यो। बाराका लागि निरजकुमार यादवले ६५ र पवन सर्राफले ४१ रनको योगदान गरे ।

बाराको ब्याटिङ आक्रामक र सन्तुलित रहँदा सप्तरीको बलिङ दबाब सिर्जना गर्न असफल रह्यो। खेलको दौरान बाराका खेलाडीहरूले दमदार प्रदर्शन गर्दै टोलीलाई सहज जीतसम्म पुर्याए।

खेलअघि एक विशेष समारोहबीच लिगको उद्घाटन गरिएको थियो।
उद्घाटन समारोहमा विभिन्न खेलकुद संघका प्रतिनिधि, स्थानिय बासिन्दा तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मधेश प्रदेशमै पहिलो पटक आयोजित यो लिगमा मधेशका आठ वटै जिल्लाका टिमहरूको सहभागिता रहेको छ। प्रतियोगिता वीरगन्जको टिबी शाह क्रिकेट (नारायणी) रंगशाला र कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा आयोजना हुँदैछ । लिगको उद्देश्य प्रदेशभित्र क्रिकेटको विकास, प्रतिभा पहिचान र खेलकुदको माध्यमबाट सामाजिक सद्भाव बढाउनु रहेको आयोजकले बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै