ट्रेन्डिङ

सुनिल पौडेलविरुद्ध अख्तियारको अर्को भ्रष्टाचार मुद्दा, झन्डै ६ करोडको अनियमितता आरोप

वीरगन्ज । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक डा. सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।

सोमबार उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने ६ करोड रुपैयाँ बराबरको भ्रष्टाचार अभियोगमा अर्को मुद्दा विशेष अदालतमा दायर गरेको हो । साथै, सो प्रकरणमा तत्कालीन सह–निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनल प्रालि र उक्त कम्पनीका प्रमुख कार्यकारी अकबर हुसेनलाई समेत प्रतिवादी बनाइएको छ।

आर्थिक वर्ष २०७५/७६ मा सूचना प्रविधि केन्द्रमार्फत गरिएको उपकरण खरिदमा अनियमितता भएको आरोपमा ५ करोड ५९ लाख रुपैयाँको नोक्सानी देखिएको अख्तियारको दाबी छ। २६ करोड २९ लाख लागत अनुमान गरिएको परियोजनामा, काम नभइसकेको अवस्थामा समेत म्याक्स इन्टरनेशनल कम्पनीलाई रकम भुक्तानी गरिएको भेटिएको अख्तियारको भनाइ छ।

मिलेमतोमा लागत बढाएर गैरकानुनी रूपमा लाभ लिएको र सरकारलाई हानि पुर्‍याइएको आरोप पनि लगाइएको छ। अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले बताएअनुसार, ‘सरकारी खरिद निर्देशिका तथा लेखा प्रणालीको उलङ्घन गर्दै प्रतिवादीहरूले बदनियतपूर्वक काम नगरेकै अवस्थामा रकम भुक्तानी गरेका छन्। यसमा प्रत्यक्ष मिलेमतोको प्रमाण भेटिएको छ।’

सबै प्रतिवादीसँग ५ करोड ७९ लाख रुपैयाँ बराबरको विगो दाबी गरिएको छ। दोषी ठहरिएमा १० वर्ष कैद र बराबर/दोब्बर जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

डा. पौडेल यसअघि पनि विभिन्न भ्रष्टाचार प्रकरणमा संलग्न रहेको आरोपमा अदालतको कारवाहीमा परेका छन्। ‘नेशनल पेमेन्ट गेटवे’ र ‘डिजिटल नेपाल’ परियोजनासँग सम्बन्धित भ्रष्टाचार अभियोगमा उनीमाथि पहिलेका मुद्दा अझै चलिरहेको छ

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै