वीरगन्ज । नेपाल पहिलो पटक आईसीसी महिला विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल भएको छ । नेपाली टोलीले एक खेलअघि नै उक्त छनोटमा स्थान बनाएको हो।
‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई ५ विकेटले हराउन सफल भयो । यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए । नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।
नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ। ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।
युएईले दिएको ११५ रनको लक्ष्य नेपालले अन्तिम तीन बल बाँकी रहँदा पूरा गरेको हो। नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन्। २८ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। रुविना क्षेत्री बेलबासेले १८ बलमा तीन चौकासहित २३ रनको योगदान दिइन्। ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन्। युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन्।
त्यसअघि बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनाएको थियो। युएईकी कप्तान ईशाले सर्वाधिक ३९ रन बनाइन्। ३९ बल खेलेकी उनले दुई चौका र एक छक्का प्रहार गरिन्। ओपनर तीर्थ शतिशले ३२ बलमा दुई चौकासहित २१ रनको वइगदान दिएकी थिइन्। उनीहरूबीच पहिलो विकेटका लागि ४५ रनको साझेदारी भएको थियो।
हिना होत्चान्डी २० र लावन्या केनीले १२ रन बनाइन्। नेपालकी मनीषा उपाध्यायले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले २० रन मात्रै खर्चिइन्। कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट आफ्नो नाममा लेखाइन्।