वीरगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा आज भएको बहस पछि न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । आज मिश्रका तर्फबाट वरिष्ठ अधिवक्ताहरु राजु बस्नेत, सतिशकृष्ण खरेल, गोविन्द बन्दी र विष्णुप्रसाद भट्टराईले बहस गरेका थिए ।
मिश्रले सरकारको अत्याचारपूर्ण व्यवहारपछि न्यायका लागि सर्वोच्च अदालतको ढोकामा आइपुगेको बताए थिए । बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहसपछि ५० दिनदेखि प्रहरी हिरासतमा रहेका मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएको हो ।
गत चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनलाई उक्साएको आरोपमा मिश्रलाई प्रहरीले नियन्त्रण्मा लिएको थियो ।