ट्रेन्डिङ

यात्रुबाहक बसबाट लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडामा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक बिकास बमको कमाण्डमा र प्रहरी नायब निरीक्षक सरोज कुमार अधिकारीको टोलीले उक्त अपरेशन सफल बनाएको हो ।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले आज बिहान साढे ११ बजे प्रदेश १–०१–००१ ख ४१५६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा बसमा सवार दुई युवकको शरीर तलासी लिँदा निषेधित लागुऔषध फेला परेको महोत्तरीका प्रहरी प्रवक्त डिएसपी शैलेन्द्र कुमार भट्टले जनाए ।

प्रहरीका अनुसार पक्राउ परेका युवकले लगाएको कालो रङको पाइन्टको दाहिने खल्तीबाट सूर्या चुरोटको खालि बट्टाभित्र फिका हरियो रङको प्लास्टिकले बेरेर राखिएको लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) ७.७३ ग्राम बरामद गरिएको हो ।

पक्राउ पर्नेमा सिरहा जिल्ला, सिरहा नगरपालिका–७, महेश्वरथानका २० वर्षीय दुर्गेश यादव र सर्लाही जिल्ला, बलरा नगरपालिका–४ घर भई हाल सिन्धुली, कमलामाई नगरपालिका–८ बस्ने २७ वर्षीय धर्मेन्द्र साह (चलाख) रहेका प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै