वीरगन्ज । नेकपा एमालेले कलैया उपमहानगरको नयाँ ७१ सदस्यीय कार्यसमिति गठन गरी आज शपथ ग्रहण समारोह सम्पन्न भएको छ ।
महम्मद समिउल्लाहको अध्यक्षतामा गठित नयाँ कमिटीले उपमहानगरभर पार्टी संगठनलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ । सर्वसम्मत चयन भएको कमिटीको उपाध्यक्षमा रमिता कुमारी सिंह, सचिवमा भिखारी विद्रोही, सहसचिवमा रुस्तम अन्सारी रहेका छन् ।
अध्यक्ष समिउल्लाहले नयाँ पदभार ग्रहण गर्दै कलैयाको विकासमा एमालेको सक्रिय भूमिका रहने बताए । उनले उपमहानगरका सबै वडामा संगठन सुदृढ बनाउने र युवालाई पार्टीमा संलग्न गराउने प्रतिबद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेलले नयाँ कमिटीलाई जनताका समस्यामा ध्यान केन्द्रित गर्न आह्वान गर्दै स्थानीय सरकारसँग समन्वय गर्न निर्देशन दिए ।
नयाँ कमिटीले आगामी दिनमा युवा र महिला संगठनलाई मजबूत पार्न विशेष अभियान चलाउने तयारी गरिएको छ । कार्यक्रमका वक्ताहरुले मिसन २०८४ लाई मध्येनजर गर्दै पार्टीलाई एकल बहुमत सहितको नेतृत्व प्रदान गर्न संगठन विस्तारमा जोड दिएका थिए ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य पौडेल, केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य मोहम्मद समिर, रविनदास श्रेष्ठ, कलैयामा मेयर विनोद साह, पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, सहसचिव जवाहीर अन्सारी लगायत नेता कार्यकताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।