वीरगन्ज । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ स्थित मास्टर चोक नजिकै पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान सवारी दुर्घटना हुँदा एक पैदलयात्री गम्भीर घाइते भएका छन् ।
आज बिहान पौने १० बजेको समयमा काठमाडौंबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज ६९६४ नम्बरको सुमोले पैदल यात्री जय बहादुर मोक्तानलाई ठक्कर दिएको थियो । बारा जिल्ला जीतपुर–सिमरा उपमहानगरपालिका–२१ निवासी वर्ष अन्दाजी ५५ वर्षका मोक्तान गम्भीर घाइते भई सुरुमा हेटौंडा अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
तर स्वास्थ्य अवस्था जटिल देखिएपछि बिहान पौने ११ बजेको समयमा उनलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको हो । घाइते मोक्तानको शरीरका विभिन्न भागमा चोट लागेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।
सवारी साधन चलाउने पर्सा बहुदरमाई नगरपालिका–९ अन्दाजी वर्ष २४ का सन्तु राउत कुर्मीलाई सुमोसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।