वीरगन्ज । नेपालले आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा विजयी सुरुआत गरेको छ ।
शनिबार सम्पन्न खेलमा नेपाल नौ विकेटले विजयी भएको हो । हङकङसँगको पहिलो खेल वर्षाको कारण रद्द भएको थियो । दोस्रो खेल पनि वर्षका कारण पाँच ओभरमा छुट्टाइएको थियो । तर, नेपालले अन्तिम चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो ।
बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा भेट्टाएको हो । नेपालकी ओपनर कविता कुँवरले सर्वाधिक १८ रन बनाइन् । ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन् । उनले पहिलो विकेटका लागि सम्झना खड्कासँग ३३ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पु¥याएकी थिइन् । तर, उनी ३.२ ओभरमा पवित्रा सेठ्ठीबाट रन आउट भइन् । सम्झना १३ र कप्तान इन्दु बर्मा सात रनमा अविजित रहिन् ।
त्यसअघि टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको बहराइनले पाँच ओभरमा एक विकेट गुमाउँदै ४१ रन बनाएको थियो । बहराइनकी कप्तान दीपिका रसांगिकाले सर्वाधिक ३४ रन बनाइन्। १३ बल खेलेकी उनले ६ चौका र एक छक्का प्रहार गरिन् । जैनेब फाजिल दुई रनमा आउट हुँदा थरंगा गजनायके तीन रनमा अविजित रहिन् । नेपालकी उपकप्तान पूजा महतोले सर्वाधिक एक विकेट लिइन् । उनले दुई ओभरमा १३ रन खर्चिइन् ।