वीरगन्ज । भारत सरकारले त्यहाँको समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएको छ ।
भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर सरकारले प्रतिबन्ध लगाएको हो । यो अनलाइनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिहरूमाथि आलोचनात्मक सामग्रीहरू पस्किँदै आएको थियो । द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार, कम्तिमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ ।
‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’

द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ । सूचनामा ‘सत्य र यथार्थ समाचार सम्प्रेषण गर्न पछि नहट्ने’ समेत भनिएको छ । भारतीय अखबार द हिन्दुका पूर्वसम्पादक सिद्धार्थसहितको समूहले सन् २०१५ मा वायरको स्थापना गरेको थियो ।
भारतमा सरकारबाट स्वतन्त्र रहेका सीमित समाचार संस्थाहरूमध्ये गनिने वायरविरुद्ध विभिन्न व्यवसायी, राजनीतिज्ञ लगायतले मानहानीका थुप्रै मुद्दाहरू दायर गरेका छन् ।
भारतका २ वामपन्थी दलबाट प्रतिबन्धको विरोध
भारतका दुई वामपन्थी दल कम्युनिष्ट पार्टी अफ इण्डिया(सीपीआई) माक्र्सवादी र सीपीआईले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् । भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर भारत सरकारले शुक्रबार प्रतिबन्ध लगाएको हो ।
भाकपाका महासचिव डी राजा र माक्र्सवादीका महासचिव एमए बेबीले केन्द्रीय सञ्चारमन्त्री अश्विनी बैष्णवलाई पत्र लेखेरै द वायरजसता मिडियामाथि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएका हुन् । दुवै वामपन्थी पार्टीले भने भारत सरकारसमर्थित सञ्चारमाध्यमहरूमाथि कारबाहीको माग गरेका छन् । भारत सरकार तथा सेनाबाट प्रमाणित नभएका फेक भिडियो र सूचना प्रवाह गरेर सरकार समर्थित धेरै सञ्चारमाध्यमहरूले साम्प्रदायिक विद्वेष फैलाउने काम गरिरहेको उनीहरूको भनाइ छ ।

‘फेक न्युजबाट साम्प्रदायिक विद्धेष फैलाउने टिभी च्यानलहरूलाई कारबाही गर्नुको साटो सत्य तथ्य लेख्ने ‘द वायर’ जस्ता मिडियामाथि प्रतिबन्ध लगाइनुले सरकार स्वतन्त्र मिडियालाई नियन्त्रण गर्न उद्यत रहेको देखाएको छ,’ उनीहरूले भनेका छन् । भारत–पाकिस्तान तनाव बढिरहेका बेला भारतीय न्युज च्यानलका फेक न्युज रोक्नुको साटो सरकार स्वतन्त्र मिडियाविरुद्ध उत्रिएको भन्दै आलोचना भएको छ ।
अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न निर्देशन
भारतको रक्षा मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न निर्देशन दिएको छ । भारत–पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

मन्त्रालयले कारगिल युद्ध, सेप्टेम्बर २६ को मुम्बई हमला र कन्दार अपहरण जस्ता पछिल्ला घटनाहरूमा समयभन्दा अगाडि नै अनियन्त्रित रिपोर्टिङ गर्दा सिर्जना भएका खतरालाई उदाहरणको रूपमा प्रस्तुत गरेको छ । भारतको केबल टेलिभिजन नेटवर्क सम्बन्धी कानुन स्मरण गराउँदै आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशन÷प्रसारण गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिहरूबाट आधिकारिक रूपमा जारी नगरिएसम्म सुरक्षा कारबाहीका विवरण गोप्य राखेर सघाउन आह्वान गरेको छ ।