काठमाडौँ । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तान तनाव सृजना भएकोले पाकिस्तानको संवेदनशील क्षेत्रमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छन् ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् । विगतका केही दिनदेखि भारत र पाकिस्तानबिच तनावग्रस्त स्थिति बनेको छ । पाकिस्तानको लाहोर, फैसलाबाद, बाहावलपुर, मुल्तान, कराँची, सियालकोट, सहिवल जस्ता ठाउँहरूमा एमबीबीएस पढ्न गएका ८० भन्दा बढी नेपाली विद्यार्थीहरू रहेका छन् ।

उनीहरुलाई स्वदेश फर्काउन सांसद श्रेष्ठले पत्रमा लेखेकी छन् । छिमेकी मुलुक भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा त्यहाँका विद्यार्थीको विवरण राखेर सरकारका योजनाहरू के कस्ता छन्, त्यसबारे समेत जानकारी उपलब्ध गराइदिन श्रेष्ठले आग्रह गरेकी छन् ।