वीरगन्ज । भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दूर’ नामक सैन्य कारबाही गरेपछि नेपाल–भारत सीमानाका रक्सौलमा ‘रेड अलर्ट’ जारी गरिएको छ ।
रेड अलर्ट जारी भएसँगै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । बिहार प्रदेश सरकारले रेड अलर्ट जारी गर्दै सबै प्रहरी इकाइहरूलाई रक्षा बलहरूसँग समन्वय गर्न निर्देशन दिएको छ । राज्यका महत्वपूर्ण स्थानहरूमा सुरक्षा कडा पारिएको छ भने सीमामा समेत कडाइ गरिएको छ ।
सो क्रममा भारतीय प्रहरीले आज रक्सौल नाकाबाट भारत प्रवेश गर्न खोज्ने चारजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिईएका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका र हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका बताइएको छ । सुरक्षा स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन अझै स्पष्ट भएको छैन । सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन् । हाल चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको एसएसबीले जनाएको छ ।