वीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह पर्सा आउने भएका छन् ।
वैशाख २७ गते शनिबार पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुसँगको भेटघाट र पोखरिया नगरपालिकामा माटो पार्कको शिलान्यास गर्न उनीहरु पर्सा आउन लागेको जनमत पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।
अध्यक्ष डा. राउत र मुख्यमन्त्री सिंह शनिबार दिनभरी विभिन्न मन्दिरको दर्शन तथा नेता कार्यकर्ताहरुसँग विभिन्न कार्यक्रममा सहभागि हुने नेता सर्राफले बताए ।
शनिबार बिहान वीरगन्ज–१९ मा रहेको बिन्दवासीनी मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसलगतै सोही स्थानमा जनमत पार्टी क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यालयले आयोजना गर्ने भेटघाट र चियापान कार्यक्रममा सहभागि हुने जनाइएको छ ।
भेटघाट लगतै बिहान साढे ९ बजे पोखरिया–९ मा माटो पार्क शिलान्यासको कार्यक्रम रहेको छ भने सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर –६ मा नेता तथा कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको बताइएको छ । दिउँसो एक बजे जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मदुवाहा खेलकुद मैदानमा अध्यक्ष राउत र मुख्यमन्त्री सिंहले सभा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेता सरार्फले बताए ।