वीरगन्ज । मधेश केन्द्रित दल सम्मिलत संङ्घीय लोकतान्त्रिक मोर्चाले भारतले पाकिस्तानमा गरेको हवाई आक्रमण प्रति एक्यबद्धता व्यक्त गरेको छ ।
मोर्चाको बुधबार काठमाडौंमा बसेको बैठकले विभिन्न ४ वटा निर्णय गरेको मोर्चाका नेता केशव झाले जानकारी दिए । मोर्चाले गत वैशाख ९ गते भारतको काश्मिरस्थित पहलगाममा आतंकवादीहरुले आक्रमण गरि नेपाली नागरिक सुदिप न्यौपाने सहित २८ जना भारतीय पर्यटकको गरेको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मानवता विरोधी जघन्य अपराधको घोर भत्सर्ना गर्दै ज्यान गुमाउने परिवाहरुप्रति समवेदना व्यक्त गरेको छ ।
‘आतंकवादको विरुद्धमा गरिने सबैखाले संघर्ष र कार्यवाही प्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौं । साथै नेपाली नागरिक सुदिप न्यौपानेको परिवारलाई क्षतिपूर्ति, सहयोग र रेखदेख गर्न नेपाल सरकारसँग आग्रह गर्दछौं ।’मोर्चाले गरेको निर्णमा उल्लेख गरिएको छ ।
त्यसैगरी गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई राज्यद्वारा गरिएको गैरकानुनी गिरफ्तारीको घोर भत्सर्ना र विरोध गरेको छ । साथै उक्त गैरकानुनी कार्यमा संलग्न रहेकाहरुलाई कानुनी कारबाहीको माग गरेको छ ।
यसैगरी ऐतिहासिक मधेश जनविद्रोह, आन्दोलन, किराँत लिम्बुवान आन्दोलन लगायत विभिन्न आन्दोलनका क्रममा मुद्दा लगाई जेलमा राखिएका राजवन्दीहरुलाई विना सर्त रिहाई तथा झुठा मुद्दा लगाइएकाहरुको मुद्दा खारेज गर्न नेपाल सरकारसँग माग गरेको छ । साथै नेपाल सरकारद्वारा विभिन्न आन्दोलनरत पक्षसँग विभिन्न समयमा गरिएका सम्झौताहरुलाई तत्काल कार्यान्वयन गर्न समेत माग गरेको छ ।