वीरगन्ज । पर्सा प्रहरीले मानव बेचबिखन तथा ओसार पसारमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
गत वैशाख २२ गते साँझ साढे ६ बजेको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट अगाडिबाट प्रहरीले धादिङका रोजन भुजेललाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी चेकिङ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका २ जना युवतीहरूलाई रोकी आफन्त नेपालका कर्मचारी समेतको उपस्थितिमा सोधपुछ गर्दा शंकास्पद देखिएकाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट युवतीहरूको साथैमा रहेका धादिङ गल्छी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष २४ को रोजन भुजेलले उनीहरुलाई जागिरको प्रलोभनमा पारी बेचबिखन गर्न भारत लैजाँदै गरेको खुलेको पर्सा प्रहरी बुधबार जनाएको छ ।
हेटौडा तथा वीरगञ्जको कपडा कारखानामा राम्रो आम्दानी हुने काममा लगाईदिने भनि प्रलोभनमा पारी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाँदै गरेको देखिन आएकोले रोजन भुजेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता किशोर लम्सालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
भुजेललाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।