राजविराज । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सप्तरीमा तीन वटा योजनाको शिलान्यास गरेका छन् ।
बुधबार राजविराज नगरपालिका–९ बिरौलमा अध्यक्ष राउतले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको दोस्रो पटक शिलान्यास गरेका हुन् । यसअघि २०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सोही प्रतिष्ठानको भर्चुअल शिलान्यास गरेका थिए । २०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।
तर, सो आदेशको म्याद गुज्रिसकेकोले अब नयाँ गठन आदेशानुसार मधेश प्रदेश सरकारबाट ४ करोडको बजेट विनियोजन गरि पूर्वाधार निर्माण गर्न शिलान्यास गरिएको अध्यक्ष डा. राउतको सचिवालयले जनाएको छ । त्यसैगरी, मधेश सरकारकै लागनीमा राजविराज–९ मलेठमा गजेन्द्रनारायण सिंह स्मृति भवन र ओशो आश्रम तथा वृद्ध ध्यान केन्द्र भवनको पनि शिलान्यास गरिएको छ ।
शिलान्यास समारोहमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह, पार्टीको संगठन विभाग प्रमुख डा.जयकान्त राउत, जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता पूर्व शिक्षामन्त्री महेश प्रसाद यादव, उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँसहितका पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।