वीरगन्ज । भारत र पाकिस्तानमा तनाव चर्किएपछि प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक राखेका छन् ।
सिंहदरवारमा सुरक्षा परिषद्को बैठक अहिले बसिरहेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेना रथी निर्मलकुमार थापा, जनपथ प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक हुतराज थापा सहभागी छन् ।
भारत र पाकिस्तानबीच युद्ध सुरु भएपछि खुला सीमाना भएका कारणले सरकारले बेलैमा सतर्कता अपाउनुपर्ने आवाज सांसदहरुले सदनमा उठाएका थिए । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सीमा क्षेत्रमा थप कडाई गरिएको छ । सशस्त्र प्रहरीलाई सीमा नाकाको आवतजावतमा कडाइ गर्ने जिम्मा दिइएको छ । सबै युनिटहरुलाई हाइ अलर्टमा राखिएको गृह मन्त्रालयले जनाएको छ ।
पहलगाम आतंकवादी हमलापछि कतिपय संदिग्ध व्यक्ति नेपाल भित्रिन नदिन भारतले समेत नेपालको सुरक्षा निकायलाई सहयोगको आग्रह गरेको बताइएको छ । पछिल्लो समय विकसित क्षेत्रिय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।
सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीब्रता दिएको छ । यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।
अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिईएको छ, भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् । सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको सशस्त्र प्रहरीका केन्द्रीय सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । सम्भावित संकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको उनको बताए ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईकासाथ गरिएको छ । तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको छ । यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको सहप्रवक्ता थापाले बताए ।